Saturday, November 26, 2016

A trek to Everest Base Camp and Three passes

विभिन्न ट्राभल म्याग्जिनहरुको जीवनकालमा एकपटक पुग्नै पर्ने गन्तव्यमा परिरहने सगरमाथा आधार सिविर सम्म पुग्ने रहर संसारमै कसको नहोला र? मेरो बर्षौ देखिको सपना पूरा गर्न अनि दशैँको बिदा सदुपयोग गर्न एक महिना अगाडी देखि नै सगरमाथा अाधार शिविर पदयात्राको योजना बुन्न थालेको थिएँ मैले । यो यात्रालाई अझै रोमान्चक बनाउन चुनौतीपूर्ण मानिने गन्तव्य "सगरमाथा आधार सिविर राउन्ड सर्किट-थ्री पासेज" (रेन्जोल पास - चोला पास - कोङ्गमाला पास) रुटमा पदयात्रा गर्ने निर्णयमा पुगेँ।

त्यसै अनुरुप फुलपातिको दिनको लागि मैले केइ हप्ता अगाडि नै काठमाडौ देखि लुक्ला सम्मको जहाजको टिकट पनि काटे । तर बिडम्बना लुक्लाको मौसमले साथ नदिएर दशैँका मेरा तीन दिन बिमानस्थलमै जहाज कुरेर बिते र चौथो दिन मात्र अर्थात दशैको टिकाको दिन बिहान म काठमाडौबाट लुक्ला उड्न पाएँ।

समुद्री सतहबाट २८४० मिटर उचाइमा रहेको संसारको सबैभन्दा खतरनाक विमानस्थल भनेर चिनिने तेन्जिङ हिलारी बिमानस्थलमा विमान अवतरण भएसँगै मेरो यात्रा प्रारम्भ भयो ।

Tenzing Hillary Airport, Lukla


बाटो बाटोमा राखेका माने घुमाउँदै, गुम्बाहरुलाइ दाहिने पार्दै, झोलुङ्गे पुल तर्दै, भरिया दाजुभाइहरु, पर्यटकहरुसँगै बाटोमा बाटो मिलाउँदै दुधकोशीको किनारै किनार मेरो यात्राले गति लियो।

लुक्लाबाट चेप्लुङ फाक्दिङ मोन्जो जोरसल्ला हुँदै सुन्दर सल्लाका जङ्गलहरु नाघेर म नाम्चे पुगेँ अनि पहिलो रात नाम्चेमै बसेँ ।

Suspension Bridge, on the way to Namche.

म नाम्चे पुग्दा सांझ परिसकेकोले गर्दा बजार पुरै कुहिरोले ढाकेको थियो । साँझमा एकछिन बजार घुमें। । नाम्चेमा आधुनिक कफि बेकरि पसल देखि लिएर रेस्टुरेन्ट डिक्स्को क्लब पुलहाउसहरुको ब्यबस्था रहेछ । म बसेको होटेलका दाइले भनेको सुने– ‘भाइ, नाम्चे काठमाडौको ठमेल भन्दा केइ कम छैन । पैसा भयो भने यहाँ नपाइने कुरा केही छैन ।’

Namche covered by Fog

अर्को दिन बिहानै चिया नास्ता गरेर मैले यात्रा प्रारम्भ गरेँ । सगरमाथा पदयात्राका लागि निस्केका पदयात्रीहरुले नाम्चे पुगेपछि आफ्नो गन्तव्य रोज्न सक्ने रहेछन् । सिधै तेङ्बोचे भएर सगरमाथा पदयात्रा गर्ने कि हिमताल गोक्यो हुँदै सगरमाथा आधार सिविर जानेकी अझ रोमान्चक रेन्जोला पास गोक्यो चोला पास हुँदै आधार सिविर जाने । मेरो गन्तब्य थ्री पासेज भयकोले म थामे तिर उकालो लागेँ ।

थामे भनेको प्रसिद्द पर्बतारोहिहरुको गाउँ रहेछ । किर्तिमानी आरोहिहरु तेन्जिङ नोर्गे शेर्पा, आप्पा शेर्पा, आङरिता शेर्पाको गाउँ पुगेपछि ‘हिमालको काखमा छ सानो मेरो गाउँ...’ भन्ने गित थामे लाई देखेर लेखेको भान भयो।

Thame Village, Thame



Appa Sherpa's home.

भित्ता भरी गिनिज बुक अफ वल्र्ड रेकर्ड्सका सर्टि्फिकेट अनि सगरमाथाको चुचुरोमा खिचेका तस्बिरहरु झुन्ड्याइएका आप्पा शेर्पाको होटेलमा बिहानको खाना खाएर म लुङ्देनतिर उकालो लागेँ ।



बाटोमा भेटिने स्वदेशी विदेशी अपरिचित सबैसँग म आत्मियताका साथ बोल्थेँ । एक्लै यात्रा गर्नुको मजा यही त हो । एकल यात्राका क्रममा भेटिएका साथीहरु मेरा लागि निकै नै महत्वपुर्ण हुन्छन् । यी अपरिचित सँगको आत्मियताले मलाइ बाटोमा उर्जा प्रदान गर्छन। नया साथीहरुका नयाँ नयाँ ठाँउका कथाहरु सुन्छु अनि आफ्ना कथा सुनाँउछु। बाटोमा भेटेका दुइजना अपरिचित जापानी नागरिकहरु सङ्ग भलाकुशारी गर्दै म लुङ्देन पुगेँ। भोलि रेन्जोला पास कसरी गर्ने भनेर एक्लै योजना बुन्दै त्यो रात लुङ्ग्देन मा बिताएं।

मेरो यात्राको तेस्रो दिन बिहान ५ बजे टाउकोमा जडिएको टर्च लाइट बालेर मैले यात्रा प्रारम्भ गरेँ । मेरा तीन पास हरु मध्य पहिलो रेन्जोला पास गर्न नै गार्हो भयो । ठाडो उकालो अनि ढुङ्गै ढुङ्गामा टेकेर हिँड्नु पर्ने । पोहोर सालको भुकम्पले बाटो बिगारेकोले बाटोको अबस्था एस्तो भएको भन्दै थिए एकजना गाइड दाजु । थकाइले मरेतुल्ले म एक एक पाइला गर्दै उकालो चढेँ । माथि उक्लिसकेपछी त्यहाँबाट देखिने दृश्यहरुले सबै थकान एक झमटमै बिर्साइदियो । टाकुरोमा मैले १ घन्टा जति बिताँए । फोटाहरु खिचेँ । त्यहाँबाट देखिने शिखरहरु सगरमाथा, लोत्से, मकालु, कञ्चनजंघा र चोयुलाई निकै नजिकबाट नियाले र ओरालो लागें ।

Mount Everest seen from Renjo La pass



त्यो दिन रेन्जोला पास तरेर म गोक्यो उपत्यकामा गएर बास बसे । गोक्यो तालको त्यो सफा पानी अनि ठ्याक्कै अगाडि हिमालहरु देख्दा साँच्चै स्वर्ग भनेको यहि नै पो हो जस्तो लाग्थ्यो।



Gokyo Lake.

Gokyo Lake

गोक्यो सगरमाथा पदयात्राको आकर्षक गन्तव्य हो । धेरै पर्यटकहरु गोक्यो र गोक्यो रि सम्म मात्र पदयात्रा गर्न आउँछन् । अनि अलि धेरै छुट्टी भएकाहरु र अलि रोमान्चक पदयात्रा चाहनेहरु चोला पास तरेर सगरमाथा आधार शिविर पुग्छन् ।

५३५७ मि अग्लो गोक्यो रि गोक्यो उपत्यकाको एउटा टाकुरो हो जहाँबाट गोक्यो तालको मनोरम दृश्य देखिन्छ । बिहानै सुर्योदय गोक्यो रि बाट हेर्नुपर्छ भनेर म ५ बजे उठेर गोक्यो रितर्फ उकालो लागें । तीन घन्टाको नाकै ठोकिने जस्तो ठाडो उकालो लागेपछि गोक्यो रिको चुचुरोमा पुगेँ । त्यहाँ एक घन्टा जति बिताएर तल गोक्यो उपत्यका घुमेर खाना खाएर फेरि यात्रा थालेँ । गोजुम्बा ग्लेसिएरमाथि हिँडेर म थाक्नाक भन्ने ठाउँ पुगेँ । त्यो रात थाक्नाकमै बिताएँ ।

From Gokyo Ri

From Gokyo Ri

आर्को दिन म बिहनै ५ बजे चोला पास जाने बाटो हिँडेँ टाउकोमा जडेको टर्चलाइट बालेर । चोला पास तीन पासहरु मध्य सबैभन्दा गार्हो मानिन्छ। आधा घन्टा जति हिउँको बाटो चिप्लिने डर मनमा राख्दै उकालो लागेँ र सजिलै पास तरेँ पनि।

Crossing Chola Pass



चोला पास तरेर चोलात्से हिमालको काखमा रहेको जोङ्गला गएर खाना खाँए। पदयात्रीहरु चोला पास तरेर जोङ्गला बास बस्दा रहेछन तर मेरो यात्रा रोकिएन । चोला सो हिमतालको किनारै किनार लोबुचे खर्क तरेर म लोबुचे पुगेँ। त्यहाँ पनि मेरो यात्रा रोकिएन । त्यो भन्दा माथिल्लो बस्ती गोरकशेपमा गएर टुङ्गियो मेरो त्यो दिनको यात्रा । गोरकशेपको एकजना दिदिले भनेको याद आयो “भाइ तो मान्छे हो कि घोडा हो?’’ गोरेकशेप सगरमाथा पदयात्राको अन्तिम मानव बस्ती हो । पाँच हजार एक सय चालीस मिटरमा रहेको गोरेकशेपमा होटल–लजको राम्रो सुविधा छ । सगरमाथामा पर्यटकले चाहे जस्तो सुविधा पाउँछन् । त्याहाँ सम्म सबै सामगृहरु भरिया लगाएर लानु पर्ने भएपनि तारे होटलको याद मेटाउने खालकासुविधा पनि उपलब्ध हुन्छन् त्यहाका होटेलहरुमा। गोरेकशेप सगरमाथा आधार सिविर र कालापत्थर जाने बिन्दु हो । पर्यटकहरु सुर्योदयको लागि कालापत्थर जाने गर्दछन भने अर्को दिन सगरमाथा आधार सिविर जाने गर्दछन।

Everest Base Camp

म आर्को दिन विहान कालापत्थर गएर सुर्योदयसँगै सगरमाथा, नुप्तसे, पुमोरी, आमाडब्लम, मेरा पिक, थामासेर्कु, लगयत अन्य शिखरहरुको दृश्यावलोकन गरेर गोरकशेप झरेँ । ५५५०मि अग्लो कालापथ्थर सगरमाथा आधार सिविर पदयात्रा मार्गको सबैभन्दा उचचतम बिन्दु हो जहाबाट ३६० डिगृमा हिमालहरु देख्न सकिन्छ।

म त्यही दिन गोरकशेपमा नास्ता खाएर आधार शिविर गएँ । अहिले सगरमाथा चढ्ने मौसम नभएकोले आधार सिविर खाली थियो । पर्यटकहरुको घुइँचो मात्र थियो । सगरमाथा चढ्ने सपना पूरा हुन नसकेपनि सगरमाथाको आधार सिविरलाई छुन पाउँदा मात्र पनि पर्यटकहरु निकै गौरवान्वित भएको महसुस गर्दा रहेछन । म भने एक दिन सगरमाथा चढ्ने गरि आउँछु भनेर आफ्नो बाटो गोरकशेप तर्फ लागेँ ।

त्यो दिन म गोरकशेपबाट दुधकोशी नदिको किनारमा रहेको सानो बस्ती लोबुचे आएर बास बसेँ । लोबुचेमा पर्यटकहरुको अत्याधिक भिड भएकोले म ४ जना भरिया दाइहरुसँगै एउटै कोठामा सुतें जुन मेरो लागि एक प्रकारको रमाइलो अनुभव रह्यो ।

बिहान ५:३० बजे तिर नास्ता खाएर म निस्के । आज थ्री पासेजमध्ये अन्तिम कोङ्गमाला पास चढ्नु थियो ।

कहिले पनि नआएको ठाउँ, त्यस्तै अप्ठ्यारो बाटोे । बाटो सोध्नलाई कोही पनि थिएनन् । एक्लै ढुङ्गाले बनाएका साना साना घर पछ्याउँदै म हिँड्न थाले । मलाइ एउटा बिन्दुमा एक्लै यात्रा गरेकोमा पछुतो लागेको थियो, मनमनै सबै ठिकै हुन्छ सबै ठिकै हुन्छ भन्दै हिँड्न थाले।

सायद अन्तिम गन्तव्य भएर पनि होला अनि अलि थकाइ धेरै नै लागेर होला मलाइ यो चढ्न अलि गाह्रै भयो । हिँडाइ भन्दा धेरै समय थकान मेट्दै एक्लै हिँडिरहेँ। हेर्दा अलिकति माथि जस्तो लागेपनि मलाइ पासमा पुग्न ४ घन्टा लाग्यो, तर पनि जसो तसो ५,५३५ मिटर अग्लो पास चढेँ ।

View from Kongmala Pass


माथि उक्लेसी थकान सबै एक छिनमा मेटियो। त्याहाँबाट देखिने मनोरम हिम्शृन्खलाहरु क्यामरामा कैद गरेर म छुकुङ गाउँ तर्फ लागें । निकै लोभलाग्दो अनि रमणीय छुकुङ गाउँ मनमोहक आमादब्लम हिमालको काखमा छ ।


Mount Amadablam.

सामान्यतयाः सगरमाथा आधार सिविरको पदयात्रामा जाने पर्यटकरु यो गाउँ नजाने कारणले गर्दा ओझेलमा परे झैँ लाग्यो यो गाउँ।

छुकुङमा खाना खाएर म ओरालो लागेँ । ओर्शो शोमारे प्याङ्बोचे देबोचे हुँदै म तेङ्ग्बोचे आएर बास बसे ।

अर्को दिन बिहानै चियाको चुस्कीसँगै म तेङ्बोचेबाट ओरालो लागेँ र दुई घन्टामा नाम्चे पुगे । अत्यन्तै सुन्दर कचौराको आकारको नाम्चेको फोटो लिएँ । नाम्चेको सिरमा रहेको एभरेस्ट भ्यु पोइन्ट होटेलमा पुगेर एक छिन थकान मेटेँ अनि फेरि यात्रा सुरु गरेँ । आधार सिविर सम्म पुग्न नसक्ने कति पर्यटकहरु यहिँबाट सगरमाथाको दृश्याबलोकन गरेर फर्कन्छन। नाम्चेबाट जोरसल्ला, मोन्जो, फाक्दिङ्ग हुँदै १५/१६ दिनको लागी प्लान बनाएको ट्रेक ८ दिनमा सकेर लुक्ला आइपुगे ।

From Everest View Point, Namche.



भोलि बिहान सबेरै काठमाडौ उड्न पाइएला भन्ने आसमा त्यो रात लुक्लामा मीठो खाना र राम्रो विस्तारा सङ्गै बिताएँ ।

भोलि पल्ट १२ बजे मात्र मेरो काठमाडौं उड्ने पालो आयो । मनमा लुक्लादेखि सगरमाथा आधार सिविर सम्मका रमाइला अनुभुतिहरु सम्झिदै काठमाडौ आइपुगें ।

अगिल्लो साता मात्रै चर्चित ट्राभल गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ का लागि सबैभन्दा उत्तम गन्तव्यहरुको सूचीमा नेपाललाई पाँचौ स्थानमा राखेको छ र ‘बेस्ट भ्यालु डेस्टिनेसन’ को नम्बर १ मा पारेको छ।

अनि पटक पटक नेपाल विभिन्न ट्राभल म्याग्जिनहरुको जिवनकालमा एकपटक पुग्नै पर्ने गन्तब्यमा परिरहेकै हुन्छ। छुट्टी मिलाउनुस। साथी खोज्नुस घुम्न निस्किहाल्नुस। साथी नभेटे एक्लै निस्किनुस। बिज्ञहरु भन्छन हाम्रो नेपाल त्यस्तो देश हो, जहाँ घुम्न हिँड्नुअघि धेरै सोचिरहनु आवश्यक छैन । निकै छोटा दूरीमै भेटिन्छन् रमाइला र मनमोहक गन्तब्यहरु।

Sunday, June 12, 2016

Tilicho and Thorang: A Trek To Remember.

क्याम्पस पढ्ने बेलामा प्रसस्त समय हुन्थ्यो तर घुम्नको लागि पैसा चैँ हुन्थेन जब काम गर्न थालियो पैसा हुने तर घुम्ने समय नहुने। कहिले बिदा पर्ला भनेर क्यालेन्डर हेरिरहनु पर्ने अनि ३/४ महिना अगाडि देखिनै योजना बुन्नु पर्ने। बुनेका योजनाहरु पनि धेरैजसो अन्तिम समयमा आएर कित स्थगित हुन्थे कित आर्को सुचना न आएसम्मको लागि थाती रहन्थे। धेरै योजना योजनामै सिमित हुन्थे।
घुम्न मन हुँदा हुँदै पनि खैरे हरु जस्तो काम परिवार छाडेर एक मैनै बिदा लिएर घुम्न निस्कन नि नसकिने एक दुई दिन फुटकर बिदा कुरेर बस्नु पर्ने। तनाब छ हजुर तनाब।
हाम्रो दशैँ Sep/Oct तिर पर्ने अनि हिमालतिर पदयात्रागर्नको लागि त्यो उनै उत्तम मौसम मानिने रै छ। एस्लाइ एक प्रकारको राम्रो सम्योग मान्नु पर्छ। हामिले लामो पदयात्रा जानको लागि पाइने बिदा भनेकै दशैं नै हो।
यसै कारणले गर्दा दशैँको मौसममा बाहय सङ्गस्ङ्गै आन्तरिक पदयात्रुको सख्यामा उल्लेख्य मात्रामा बृद्दी हुने बताँउछन पर्यटनकर्मिहरु।
पहिलो दिन:
दशैँको बिदा सदुपयोग गर्न टाइटानिक लेखेको माइक्रो बस चढेर दुई भाइ जनक र म, हिमाल पारिको जिल्ला मनाङमा अबस्थित बिश्वोको सर्बाधिक उचाइमा रहेको तिलिचो तालको यात्राकोलागि बिहानै नयाँ बसपार्कबाट लमजुङ्गको बेसिसहर हिँडेम। ५ घन्टाको माइक्रोबस यात्रा पछि बेसिसहर टेकेम। त्याँ पुग्ने बित्तिकै मनाङ् जाने जिप पाइएको कारणले गर्दा बेसिसहरमा खाना खान पाइएन तथापी केइ थान बिस्कुट चाउचाउ झोलामा हालेर अब जिप यात्रा सुरु गरियो। सामान्यत अरुबेला ८ जना चढाउने जिपमा त्यो बेला हामी २२ जना थियौँ अनि भाडा नि चौबर महङ्गो। गार्हो छ सर पेट्रोल पाँइदैन कि ब्ल्याकमा किन्नु पर्छ कि उतै नाकामा गएर महङ्गो मुल्यमा ल्याउनु पर्छ भन्दै थे ड्राइभर भाइहरु। कुरो जायज नै थियो। नाकाबन्दिको बेला कल्लाइ पो सहज थ्यो र? दशैँको बेला कोहि ससुराली हिँडेका थे कोइ मामाघर। हामी चैँ २ जना तिलिचो हान्निया थेम। हामी जस्तै ट्रेकिङ्ग हिँडेका चैँ ४ जना थिए त्यो जिपमा। उनिहरु चैँ हामी जस्तो झोले पारामा आएका थिएनन। पुरै बन्दोबस्तका साथ आएका ट्रेकिङ्ग जुत्ता लगाएका घाँटिमा चुच्चे केमरा भिरेका कालो चस्मा लगाएका नर्थ फेसको मोटो ज्याकेट लगाएका। उनिहरु होटेल मेनेजमेन्टका बिध्यार्थी रै छन। उनिहरु सङ्गको भलाकुसारिमा अन्नपुर्ण ट्रेकिङ्ग रुटको बारेमा नयाँ कुराहरु जानियो। र उनिहरु सँको जिप यात्रा रमाइलो भो भन्नू पर्छ। केटाहरु गाँजा भन्दा बाहेक केइ कुरा गर्थेनन। कता गाँजा पाइन्छ कता मीठो गाँजा पाइन्छ एस्तै एस्तै। मनाङ्गमा पर्पल हेज भन्नी गाँजा पाइन्छ भन्नी नि था पाइयो हा हा
महिन्द्राको जिप कुद्यो ढुङ्गै ढुङ्गाको पाहाड फोरेर बनाएको बाटोमा। कतै कतै डाकार र्यालिमा कार हरु कुदे जस्तरी धुलो उँडाउदै कुद्थ्यो त कतै कतै थानकोट को उकालोमा मालबाहक ट्रकहरु झैँ बिस्तारै कुद्थ्यो।
जिपमा बस्ने र उठ्ने यात्रुहरु बिच पालैपालो गरिन्थ्यो। बस्नेलाइ झन सास्ती थ्यो, एक छिन बस्न नपाँउदै गार्हो भो भन्दै बसेका नि उठिहाल्थे। मनमनै Pain In The Ass भनेको एहि होला भन्दाहुन। दिउँसो १२ बजेतिर जिपमा चढेका हामि राति ९ बजे मनाङको सदरमुकाम चामे पुगियो। डाइबर भाइले आज चामेनै बस्ने अनि भोलि बिहान सबेरै मनाङ पुग्ने कुरा गरे। हाम्रो अर्को टोलि त खुसी भएर जिपबाट झरे आज एतै थकाइ मारिन्छ पर्पल हेज तानिन्छ भन्दै। सोल्टिहरु सङ्गै ट्रेकिङ जाम्ला र अलि अलि गाँजा नि तानम्ला भन्ने सपना खेर गयो ह्याँनेर आर। ती सोल्टिहरु जाने बेलामा Annapurna Trekking Route को नक्सा दिएर गए जुन हामी झोले ट्रेकरलाइ धेरै नै काम लागो है।


एकै छिनमा त जिप खाली भो। तर हामि आज त्याँ बस्यो भने हाम्रो प्लानिङ्ग चौपट हुने कारणले डाइबर भाइलाइ मनाङ जानै कर गरेम। चामेमा चाउचाउको सुप खाइयो अनि चेल्सी र वेस्टह्याम युनाइटेडको गेम एक छिन हेरियो। जनक भन्दै थे मनाङमा आएर नि चेल्सी हारेको हेरियो।
डाइबर भाइहरुलाइ चिप्लो धेरै घसेसी अन्त्यत जिप मनाङ हिँड्यो। मैले चामेमा मगाएको चौँरिको सुकुटी एति चाम्रो रै छ कि जिप मनाङ पुग्ने बेला सम्म चपाइरा थे। एउटा कगजाँ पोको पारेर भोलिलाइ राखम भन्नी सोंच नआएको भने हैन।
हामी ३ घन्टाको जिप यात्रापछी मनाङ पुगियो। मनाङ पुग्ने बित्तिकै मलाइ लेक लागे झैँ पो भो, पुरै सन्सारै मेरो अगाडि घुम्न लाग्यो, मैले खुट्टा टेक्नै छाँडे आँखै देख्न छाँडे। मन्मनै बिचार आयो कति दुख गरेर बनाको प्लानिङ खेर गयो। भोलि नै काठमाडौ फर्किनु पर्ने भो। अपिसमा सबैलाइ तिलिचो जाने भनेर एक मैना अगिदेखी दिएको गफको पो मया लागेर आयो अचानक।
जनकले मलाएर समाएर होटेलमा लगे। होटेलमा गएर तातो पानी र चाउचाउ सुप खाएसि मलाइ बल्ल होस आयो अलि अलि आँखा देखे मैले। लु भोलि सबेरै यात्रा सुरु गर्नुपर्छ भनी पशुपतिनाथलाइ सम्झी सुतेँ।
दोश्रो दिन:
बिहान ६ बजे उठियो। होटेलको झ्यालबाट देखिएको दृश्य ले मलाइ रामकृष्ण ढकालको बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस भन्ने गितको सम्झना दिलायो। एक्छिन मनाङ घुमियो। अलि माथी दोकानहरु नहुने र भए पनि अलि महको हुने कारणले केइ खानेकुराहरु, चकलेटहरु र ग्लुकोज किनेम। बोत्तलम पानी भरेम र ७ बजे बाट हाम्रो पदयात्रा सुरु गरेम।

हामी मनाङ्बाट तिलिचो ताल गएर फेरि मनाङ फर्केर त्यही जिप चढेर बेसिसहर फर्कने लक्ष्यका साथ हिँडेका थियौँ। पदयात्रामा हामी मात्रै थियनौ नाङ्गा पाखामा चरिरहेका नावर र हिमाली चराका बथान पनि थिए र साथै बाटोमा थुप्रै पर्यटकहरु भेट हुन्थे, पदयात्राको लागि उत्तम समय र बिश्वोमै चर्चित पदयात्रा रुट भएकोले गर्दा नि होला यो रुटमा पदयात्रुहरु सायदै कम हुन्छन। बाटोमा एक जना पर्यटक गाइड दाइ सित राम्रै दोस्ति भयो। उनी पनि तिलिचो हिँडेका रै छन उन्ले हाम्लाइ ह्याँ सम्म आइसकेसी तिलिचो बाट थोराङ पास गरेर मुक्तिनाथको दर्शन गरेर फर्कनुस भनेर सुझाब दे। के नै होला त भनेर हाम्रो सेडुल मा थोरङ्ग नि थपियो २ दिन लम्बिने भयो ट्रेक। हाम्रो यात्रा झन रोमान्चक हुने छाँटकाँट देखियो।
तिलिचो को पदयात्रा नेपालमा हुने पदयात्रा मध्य निकै गार्हो मानिनेरहेछ। कतै ठाडै उकालो चढ्नु पर्ने कतै गेग्र्यान बाटोमा ओरालो झर्नु पर्ने कतै एउटा सानो धर्सो जस्तो बाटो भएर जानू पर्ने। एसो गल्तिबस लडियो भने तल मर्स्ताङ्ग्दिको किनारमा पुगिने।

अन्नपूर्ण, मनास्लु, बिभिन्न हिमश्रृंखला र वरिपरिका नाङा पहाडहरु हेर्दै डरलाग्दो बाटो पन्छाउदै ४ बजे तिलिचो बेसक्याम्प (४२००मि) पुगियो। त्यो रात त्यँही बसियो। खाना खाइसकेपछी पर्यटकहरु सङ्ग बसेर बार्तालाप गर्न धेरै रमाइलो भयो। उनिहरु त जागिर छाडेर प्रेमिका च्यापेर २/३ मैनाको छुट्टी लिएर घुम्न आँउदा रै छन। आँफुलाइ जागिर छाडेनी कल्लाइ च्यापेर आउनिहो भन्नी समस्से हुन्छ। अनि आफ्नो देश गयो आर्को काम सुरु गर्यो अनि ४/५ मैना पछि फेरि घुम्न निस्क्यो। एक जना नेदरल्यान्डका पर्यटक भन्दै थे मेरो यो छैटौँ पटक हो नेपाल यात्रा। उनि पदयात्राकै लागि नेपाल आँउदा रहेछन। उनी भन्दै थे नेपाल धेरै सस्तो छ रे थोरै पैसामा धेरै ठाउँ घुम्न पाइन्छ रे। उनिहरुको लाइफस्टाइल सुन्दा कस्तो डाहा लाग्यो। हामी नेपाली चैँ मस्ती छ खैरे सोल्टिहरुलाइ भन्दै बसेम।

त्यो रात कस्टप्रद रुपमा बिताइयो, धेरै अल्टिच्युड धेरै जाडो भएर होला राती एक पलनी निदाउनै सकिएन। दाजु भाइ गफ गरेरै बसियो अधिकाम्स समय होटेल वाला लाई गाली नै गरियो एती धेरै पैसा तिर्दा नि एस्तो नराम्रो बिस्तारा अनि एस्तो नतात्ने सिरक दियो भनेर।


तेस्रो दिन:
बिहान ६ बजे उठेर चिया मसरुम सुप खाएर तिलिचोको यात्रा सुरु गरियो। बाटो निकै कठिन भए पनि बिहानपखको जोसले सजिलै चढियो। फर्किदा पो था भयो लौ हामी एस्तो बाटो कसरी उक्लिइयो होला भनेर। ठ्याक्कै भन्नू पर्दा बाटो DNA को बनावट झैँ थियो जिग ज्याग, चित्रकार रोहिनी शर्माले लगाउनी टिको जस्तो। बेसक्याम्पबाट हिँडेको ३ घन्टामा, बिहान ९ बजे संसारकै उचाइमा रहेको ताल तिलिचो पुग्यौँ।
तिलिचो पुगेसी सबै थकान हट्यो। तिलिचो ताल वास्तवमै सुन्दर थियो। त्यसको सौन्दर्य वर्णन गर्न शब्द थिएन।  म त खुसिले एक छिन सकि नसकी दौँडे। चित्रकारले कल्पना गरेर बनाएजस्तो निलो सफा ताल दायाँ बायाँ हिमालले घेरेको हाम्रो अगाडि थ्यो। एता काठमान्डु आएर फोटो देखाको हैट यो त फोटोशप हो समेत भने कोइ कोइले। मान्छे नै उँडाउने हावा चल्दो रहेछ त्यो कारणले पनि बिहान छिट्टै जानू पर्ने रहेछ। तिलिचोमा एक दुई थान फोटा खिचियो १०० रुपिया कपमा पाइने कालो चिया खाएर ओरलो झरियो।
बाटो ओरालो छिटै नै झरियो। बेसक्याम्पमा खाना खाएर त्यो दिन सिरिखर्क गएर बास बसियो। सिरिखर्कमा त्यो रात आनन्द सङ्गै बिताइयो। मीठो दाल भात राम्रो बिस्तारा राम्रो निन्द्रा भन्दा अरु केइ चाइया थेन।




चौथो दिन:
बिहानि पख ७ बजे उठेर तातोपानि खाएर फेरि हाम्रो यात्रा सुरु गरियो। सिरिखर्क बाट मनाङ नभै थोराङ निस्कने बाटो लागियो भन्नू पर्दा अब कथाले नयाँ मोड लियो। त्यो रुटमा पदयात्रीहरु निकै कम हुँदा रहेछन। याकखर्क नपुग्दा सम्म बाटोमा कोइ पनि भेटिएनन। हामी दुइजना लखर लखर घरी ओकालो घरी त्यार्सो बाटो हिँडिराखेम। बाटोमा प्रसस्तै चौँरी गाई हरु भने देखिए। जानी राखम याक गोठहरु भएको कारणले त्यो ठाँउको नाम याकखर्क रहन गएको रैछ। खर्क भनेको गोठ हैछ।
७ घन्टाको लगातार हिँडाइपछी थोराङ फेदि पुगियो। भन्नू पर्दा फेदि पुग्न निकै नै गार्हो भयो। मैले त्यो बाटोमा हिँड्दा घरमा श्रीमति छोरा छोरिलाइ सम्झेँ। पछि फेरि बिचार गर्दा मेरो त बिहे नै भा छैन भन्नि था पाएँ, सकि नसकी फेरि हिँड्न थाले। फर्केर जाम कताहो कता उकालो चढम सकिन्न। कस्तो ठाम्मा आएर अल्झिइयो जस्तै लाग्यो एक छिन त। फेदिको होटेलमा पुगेसी त्यहांको माहोलले सबै कुरा बिर्साइद्यो एक झमटमा। त्यहाको होटेल ठमेलको कुनै ब्यस्त होटेलमा गए जस्तो। मेनुमा नपाइने कुरा केइ थेन पिजा देखि बर्गर सबै कुरा। खैरेहरु कोइ तास खेलिराथे कोइ चेस कोइ बिएर पिँउदै थे। पुरै मस्ती गरिराथे खैरे सोल्टिहरु।४०" को सोनिको LCD TV, ठूलो रेफृजेरेटर सबै अत्याधुनिक सामगृहरु। सबै सोलार बाट चल्दो रै छ।
त्यो रात एउटा सिरक ओछ्च्याएर ३ ओटा ओढेर सुतियो, अलकत्र खाएर मट्टितेलले कुल्ला गरे जस्तो।
बिहान ४ बजेको घन्टी लगाउन चैँ बिर्सेनम।
पाँचौ दिन:
सँधै झैँ बिहान सुप खाएर बोत्तलमा तातो पानी भरेर यात्रा थालियो। बाटोमा लेक लागे खान हुन्छ भनेर लसुन झोलामा राखियो तर भाग्यबस त्यो लसुन कुनैपनी बेला खानु परेन। घरमा आएर राधिकाजिलाइ दिएँ त्यो लसुन मनाङ्गको कोसेली भन्दै।
बिहानै ४ बजे बाट लाइन हुँदो रहेछ थोराङ जाने हरुको। भरिया २०/२५ किलोका झोलाहरु बोकेर हामी भन्दा छिटो हिँड्दै थे। हामी भरिया दाइहरुको पछि लागेर उकाले चढेम। ४ घन्टाको लगातार उकालो हिँडाइपछी ८ बजे अन्नपूर्ण ट्रेक्किङ्ग रुटको क्लाइमेक्स विन्दु थोराङ भञ्ज्याङ पुगियो। त्यहाँ पुगेसी अलि अलि गर्बको महसुस हुने रै छ। पदयात्रुहरु त्याँ पुगेसी अनेक थरी गर्दा रै छन कसैले ज्याकेट खोलेर सेल्फी खिच्नी कसैले आफ्नो देशको झण्डा सङ्गै फोटो खिच्नी कसैले चुम्बन गर्ने एस्तै एस्तै। सानोतिनो सगरमाथा चढे झैँपो हुँदो रै छ। किनपनी नहोस ५४००मि माथी सकुसल पुग्नु भनेको चानेचुने कुरा होइनरहेछ। पहिलोपटक नेपाल घुम्न आएका एकजना फ्रान्सका पर्यटक भन्दै थे उनीहरू आफ्नो देशमा २१ सय मिटर अग्लो डाँडामा चढेका थिए । नेपाल आएर ५,४१६ मिटरमा चढेँ। बिश्वासै गर्न सकिराको छैन भन्दै थे। म नि अलि माथी गएर एउटा ढुङ्गामा "ish was here" लेखेँ।

८ बजे बाट ओरालो झर्न सुरु गरेको १:३० बजे मुक्तिनाथ पुगियो। ढुङ्गो गुल्ट्याइद्यो भने नि सिधै मुक्तिनाथै आउला जस्तो ओरालो बाटो थ्यो। ओरालो झर्न झन गारो हौ।
मुक्तिनाथको दर्शन गरि जिप चढेर जोमसोम आइयो। हामी एउटा पक्ष्मा भाग्यमानी ठहरेम किन भन्दा हामी मुक्तिनाथ पुग्दा बिस्तारै हिउँ पर्न सुरु हुँदै थ्यो। हामी माथिनै हुँदा हिउँ परेको भए हामी बाटोमै अड्किन्थेम। पछि मान्छेहरु भन्दै थे मास्तिर त मज्जाले हिउँ परेको छ।
जोमसोमबाट फेरि आर्को गाडी चढेर घाँसा गयौ र त्यो रात घाँसामै बस्यौँ। टिम्बुर हालेको चाउचाउको सुप खाँदा खाँदा वाक्क भैसकेको अनि मासु पनि खान नपाएकोले जिन्दगी हल्का बोरिङ हुन्दै गएको अबस्थामा घाँसा आएर धेरै दिन पछि मीठो मासु भात खान पाउँदा सन्सारै जिते झैँ नभाको हैन। एसो बिचार गर्दा बेनिबाट सिधै मुक्तिनाथ र मुक्तिनाथ बाट सिधै बेनिसम्मको सार्बजनिक यातायात हुने हो भने त तिर्थयात्रु तथा छोटो समय लिएर पदयात्र गर्न निस्केकालाइ धेरै सजिलो हुन्थ्यो। यातायातको सिन्डिकेसनले  गर्दा धेरै नै झेमेला हुने रै छ त्यो एरियामा। गाडिहरुलेनि मनलागी गर्ने। मुक्तिनाथ जान बेनिबाट घाँसा सम्म एउटा गाडी घाँसाबाट जोम्सोम सम्म अर्को अनि फेरि जोम्सोमबाट मुक्तिनाथ सम्म आर्को। निकै गार्होपो रै छ हौ।

छैटौँ दिन:
बिहानै घाँसाबाट बेनिको लागि बस चढेम। बाटोमा गाडी बिग्रेर ३ घन्टा जति रोक्किनु पर्यो त्यस्को प्रत्यक्ष फाइदा हामिले म्याग्दिको रुप्से झरना र सन्सारको सबैभन्दा गहिरो गल्छी कालिगण्डकिको गल्छी घुमेर लिएम। रमाइला दृश्यहरु क्यामरामा कैद गर्यौँ। बेसिसहर बाट छिरेका हामी छैटौँ दिन तिलिचो ताल र थोराङ्ला पास गरेर बेनि बजार निस्क्यौँ।
४ बजे बेनिबाट अन्तिम बस पोखराको लागि छुट्यो। सामान्यत ३ घन्टा लाग्ने बेनि पोखराको बाटो ५ घन्टा लगाइदियो।फेरि नाकाबन्दिनै मुख्य कारण बन्यो। पोखरा पुग्दा ९ बज्यो। भोलि पल्ट जसरी पनि कार्यालय हाँजिर गर्ने पर्ने भएकोले पोखरा नबस्ने जसरी भए पनि काठमाडौ जाने निर्णय भा थ्यो। मुढामा बसेर पोखरा बाट काठमान्डू सम्मको नाइट गाडिको यात्रा तय गरियो।

ट्राभलसम्बन्धी अमेरिकी वेवसाइट रफगाइड्सले सन् २०१६ मा घुम्नै पर्ने मुलुकको सूचिमा नेपाललाई पहिलो सूचिमा राखेको छ। छुट्टी मिलाउनुस। साथी खोज्नुस घुम्न निस्किहाल्नुस। साथी नभेटे एक्लै निस्किनुस। बिज्ञहरु भन्छन हाम्रो नेपाल त्यस्तो देश हो, जहाँ घुम्न हिँड्नुअघि धेरै सोचिरहनु आवश्यक छैन । निकै  छोटा दूरीमै भेटिन्छन् रमाइला र मनमोहक गन्तब्यहरु।
  विभिन्न अन्तर्राष्ट्रिय सर्वेक्षणले जिवनमा एक्पटक पुग्नै पर्ने विश्वका उत्कृष्ट १० गन्तव्यमा राखेका अन्नपूर्ण पदयात्रा मार्ग त झन छुटाँउदै नछुटाउनुस है।